
खेलाडी तयार गर्नमा बजेट लगाउनुपर्छ : क्रिकेट चौधरी
विद्यानन्द विक्की
राजविराज, १५ भदौ । राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र चौधरीले सप्तरीमा खेलकुलभन्दा पनि औपचारिकतामा बढि ध्यान दिइएकोले त्रिकेट खेलाडी पछाडी परेको बताएका छन् । १४ वर्षमुनिका क्रिकेट खेलाडीलाई विभिन्न जिल्लाहरुमा प्रशिक्षण समेत दिइरहेका चौधरीले यहाँका खेलाडी अन्य जिल्लाको खेलाडीभन्दा कम नरहेको उल्लेख गर्दै बुधवार सिएफएमसँग यस्तो बताएका हुन् ।
जिल्लामा गत दिनहरुमा अत्याधिक बजेटको खेलहरु सञ्चालन गरितापनि खेलाडी तयार गर्नका लागि खासै योजना नै नरहेको बताए । ‘जुन बजेटमा खेलहरु सञ्चालन गरिन्छन्, त्यो बजेटको आधा मात्र भाग खेलाडी तयार गर्नमा लगायो भने क्रिकेटमा सप्तरी सोचेभन्दा राम्रो हात पार्न सक्छ’ उनले भने ‘सप्तरीका क्रिकेट खेलाडीहरुमा त्यो उमङ्ग छ ।’
उनले खेलभन्दा पनि खेलाडी तयार गर्न योजना बनाएर अघि बढयो भने मात्र सप्तरीका त्रिकेट खेलाडीहरु अगाडी बढने बताए । राष्ट्रिय क्रिकेटको प्रसङ्गमा चौधरीले क्रिकेट टिमको व्यवस्थापन राम्रो नगरेकोले आज नेपाली क्रिकेट पछाडी परेको बताए । राजनितिक समस्या र आफ्नो मान्छे छिराउने प्रवृतिले नेपाली क्रिकेट टिमलाई अघि बढन कठिनाई भइरहेको तर्क पनि गरे ।









