
विराटनगरले पायो छैटौं प्रधानमन्त्री

विराटनगर — औद्योगिक राजधानी भनेर चिनिने विराटनगर प्रजातान्त्रिक आन्दोलनको उद्घोषस्थल र राजनीतिक नेतृत्व जन्माउने सहरको रूपमा पनि परिचित थियो । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेपछि अब विराटनगरले थप परिचय बनाएको छ, छैटौँ प्रधानमन्त्री र पहिलो महिला कार्यकारीको रूपमा । यसअघि ५ जना प्रधानमन्त्री उदाएको विराटनगरमा अब सूचीमा कार्कीको नाम थपिएको हो । कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको गृहनगरमा खुसीयाली छाएको छ । जो नेपालको कार्यकारी ओहदामा पुग्ने पहिलो महिला बनेकी छन् । कार्की यसअघि नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी थिइन् । अब उनले पहिलो महिला प्रधानमन्त्रीको रूपमा अर्को कीर्तिमान थप्न सफल भइन् । विराटनगर हरेक परिवर्तनमा राजनीतिक आन्दोलन, विचारको नेतृत्व गरी देशको दिशा निर्धारण गर्दै आएको छ । विराटनगरको परिचय थप फराकिलो बनेको छ, ‘प्रधानमन्त्री जन्माउने सहर’ को रूपमा ।
२००७ सालमा विराटनगरमा जन्मिएकी कार्कीले स्थानीय महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट बीए पास गरेर भारतको बनारसस्थित हिन्दु विश्व विद्यालयबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर गरिन् । वनारसबट फर्किएपछि उनले त्रिभुवन विश्वविद्यालबाट कानुनमा स्नातक गरिन् ।
वकालतबाट सुरु भएको उनको यात्रा प्रधानन्यायाधीशसम्म पुग्यो । सेवा निवृत्तपछि उनको यात्रा रोकिएन पहिलो महिला प्रधानमन्त्रीको रूपमा बढेको छ ।
२०७३ असार २७ मा नेपालकै पहिलो महिला प्रधान न्यायाधीश बनेकी उनले ११ महिनामै ऐतिहासिक मुद्दाहरूमा फैसला गरेकी थिइन् । उनी न्यायाधीश भएका बखत तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने फैसला गरेकी थिइन् । तत्कालीन सूचना तथा सञ्चार मन्त्री जेपी गुप्तालाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला पनि उनैले गरेकी थिइन् ।









