
यो वर्ष जहाजको संख्या १३ पुर्याउने सरकारको घोषणा
असार १७ – नेपाल वायुसेवा निगमले यसै वर्षभित्र जहाजको संख्या १३ पुर्याउने घोषणा गरेको छ । ५६ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा निगमका महाप्रबन्धक मदन खरेलले सहमति अनुसार चीनबाट आउने ६ वटा र अहिले निगमसँग रहेका गरी अबको ५ महिनाभित्र जहाजको संख्या १३ पुग्ने जानकारी दिनुभयो । महाप्रबन्धक खरेलले सन् २०२४ भित्र निगमसँग १६ वटा आन्तरिक र ९ वटा अन्तर्राष्ट्रिय जहाज हुने गरी अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा पर्यटनमन्त्री भिम आचार्यले अहिलेसम्म निगमको गतिविधि हेर्दा सन्तोषजनक गर्ने ठाउँ नै नभएको भन्दै गम्भीर आत्मसमीक्षा गर्न आग्रह गर्नुभयो । उहाँले कहिले जहाजको टायर, कहिले इन्जिन हराएको भन्ने कर्मचारीले आफ्नो व्यवहार सुधार्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री आचार्यले सञ्चालक समितिबाट २ वटा वाइड बडी र २ वटा न्यारो बडीका जहाज किन्ने निर्णय गर्न निर्देशनसमेत दिनुभयो । २०४५/०४६ सालतिर १८ वटासम्म विमान रहेको निगम चुस्त ब्यवस्थापनको अभाव तथा राजनीतिक हस्तक्षेप लगायत कारणले थला पर्दै गएको छ ।









