
किन जन्मिछन् अनौठा बच्चा ?
सिएफएम सम्वाददाता
राजविराज, १३ पुस / कात्तिक २२ गते ग्वालीचौर उप–स्वास्थ्य चौकीमा टाउको नभएको, दुईवटा मुख, एउटा नाक र दुईवटा नाकजस्तै देखिने प्वाल, आँखाको आकार मात्रै भएको, एउटा मात्रै कान र पछाडिको भाग खोक्रो भएको बच्चा जन्मियो ।
जलजला–७ पात्लेकी दिलसरा बिकले २ केजी तौलको यस्तो शिशुलाई जन्म दिनु भएको थियो । अनौठो शरीर भएको शिशुको जन्मेको १० मिनेटमा नै ज्यान गयो ।
गएको पुस १ गते बाग्लुङकै ताराखोला–८ करिमेलामा फेरि अनौठा बच्चा जन्मिए । अस्वभाविक शारीरिक संरचना भएकी ती शिशुको मलद्वार नभएको, मेरुदण्ड कमजोर भएको र पिसाब गर्ने अंग पनि कोखमा थियो । शिशुको दुवै खुट्टा एक अर्कामाथि खप्टिएको अवस्थामा छन् । आमा गर्भवती भएको ठीक ९ महिना पुगेर दश महिनामा प्रवेश गर्दाकै दिनमा बच्चाको अस्पतालमा जन्म भएको थियो ।
हरिकला सुवेदीको कोखबाट जन्मिएकी शिशुको शारीरिक अवस्था ज्यादै नाजुक भएपछि धौलागिरी अञ्चल अस्पतालमा उपचारपछि काठमाडौंमा रेफर गरिएको थियो । तर परिवारले उपचारपछि आशातित प्रगति नहुने ठानेर अस्पतालबाट घर फर्काएका छन् ।
तारा खोलामै रहँदा हरिकला सुवेदीले पटकपटक हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित गर्भ परीक्षण गराउनुभएको थियो । ‘हामीले समयसयमा आएर गर्भ परीक्षण पनि गराएकै थियौं, सबै ठिक छ भनेर डाक्टर भन्नुहुन्थ्यो, तर आज यस्तो बच्चा जन्मियो’ दुखेसो पोख्दै हरिकलाले भन्नुभयो ।
बाग्लुङमा मात्र होइन पछिल्लो समय यस्ता घटना देशका अरु ठाउँमा पनि भेटिएको छ । हुन त पछिल्लो समय बिश्वभर अपरिपक्व अर्थात प्री म्याचुअर शिशु जन्मने क्रम लगातार बढ्दै गएको अनुसन्धानले देखाएको छ । विकसित देशमा समेत हरेक वर्ष करिब १ करोड ५० लाख बच्चा समय अगावै जन्मिछन् र करिव ११ लाख अपरिपक्व शिशुको मृत्यु हुन्छ । बच्चाको समय अगावै हुने जन्म ५ वर्षभन्दा मुनिको उमेरमा हुने बालमृत्युदरको दोस्रो ठूलो कारण मानिएको छ । अपरिपक्व शिशुको जन्मलाई तत्काल नरोके बालमृत्युदर घटाउन नसकिने चिकित्सकहरुको चेतावनी छ ।
विशेÈज्ञहरुका अनुसार ३७ हप्ता शिशु जन्मका लागि परिपक्व समय हो । समय अगावै जन्मने बच्चाको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । विश्व स्वास्थ्य संगठन र लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन विकसित देशमा हुने बालमृत्युदर कम गर्ने उपायको खोजीमा जुटेका छन् ।
के कारण जन्मिछन् त यस्ता अनौठा बच्चा ?
रहर लाग्दा बच्चा जन्मिनुको बदला डर लाग्दा बच्चा जन्मिनुमा धेरै कारणहरु रहेको स्वास्थ्यकर्मी बताउँछन् । यस्तो हुनुमा बिज्ञानले जैविक अजैविक कारणहरुको भुमिका हुन्छ भनेको छ । उनीहरु भन्छन् ‘यसको कारण अझै थाहा हुन सकेको छैन, पहिचान भएका र अहिलेसम्म यो वा त्यो ढङ्गले देखिएका कारणमा रेडियसन, बंशाणुगत, बातावरण, खानपान, औषधिको प्रयोगलगायत छन् । धौलागिरी अञ्चल अस्पताल बाग्लुङका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनाल भन्नुहुन्छ ‘यी कारणहरुले गर्भवती भएको अवस्थामा गम्भीर प्रभाव पार्छन् । सूर्य वा बिद्युतीय किरण (रेडियसन) नभई पनि हुँदैन, तर धेरै भयो भने पनि समस्या हुन्छ ।
त्यसकारण गर्भवती अवस्थामा स्वयं महिला र परिवारले पनि धेरै सजगता अपनाउनुपर्ने जनस्वास्थ्य निरीक्षक खनालको सुझाव छ । गर्भवती अवस्थामा प्रभाव पार्ने कारणहरुमा बंशाणुगत कारणलाई रोक्न नसकिएपनि धेरै सम्भावित जोखिमहरुबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।
गर्भवती अवस्थामा खानपान, धुमपान, मध्यपान लगायतका सामान्य कुराहरुको निकै ख्याल गर्नुपर्छ, गण्डकी शिक्षण अस्पताल पोखराकी स्त्री रोग बिशेषज्ञ डा.अनु शेरचन भन्नुहुन्छ ‘सामान्य कुराहरुमा बेवास्ता गर्दा पनि गम्भीर परिणाम भोग्नुपरेको अवस्था छ ।’ महिलाले गर्भवती भएको बेलामा बिरामी भएपनि औषधि प्रयोगमा धेरै ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
विश्व स्वास्थ्य संगठनले गर्भवती भएका बेला प्रयोग गर्ने र नगर्ने (सुरक्षित र असुरक्षित) गरी दुई भागमा औषधिको बिभाजन समेत गरेको छ । सुरक्षित औषधिमा सिटामोल, भिटामिन, प्यारासिटामोललगायत छन् भने एन्टोबायोटिक, डग्सी साइक्लिन लगायतका कडाखालका औषधिलाई असुरक्षित औषधिमा बर्गिकरण गरेको छ ।
तैपनि धेरै औषधि प्रयोग जोखिम र फाइदा हेरेर गर्न चिकित्सकहरु सुझाव दिन्छन् । पहिले फ्लारोनाइड नामक औषधि बान्ता रोगका लागि गर्भवती महिलालाई प्रयोग गर्न दिइए पनि त्यसले हातमा गम्भीर असर गरेको अनुसन्धानबाट देखिएपछि अहिले विश्व स्वास्थ्य संगठनले यसलाई पनि असुरक्षित औषधिको सूचीमा राखेको छ ।
क्रोमोजोममा असर गर्ने हर्मोनल औषधि, धुम्रपान, मध्यपान गर्ने र तिनीहरुको नजिकमा बस्दा समेत त्यसले गर्भवती महिला र पेटमा रहेको शिशुको स्वास्थ्यमा असर गर्ने स्त्री रोग बिशेषज्ञ डा. शेरचन बताउनुहुन्छ ।
यस्ता कुरामा ख्याल नगर्दा शिशुको अंग बिकृत भएर निस्किने गरेको उहाँको ठम्याइ छ । त्यसैले सम्भावित कारणको बारेमा जानकारी लिई हरेक महिलाहरुले बच्चा पेटमा हुँदा खान हुने र नहुने कुराको बिषयमा डाक्टरको परामर्श लिनुपर्ने शेरचनको सुझाव छ ।









