
सीतापुरका बासिन्दा कर्मचारी खोज्दै दिक्क

सि एफ.एम.
राजविराज ।
सप्तरीको सितापुर स्थित सरकारी कार्यालयहरुमा कर्मचारीहरु नबस्दा सेवा ग्राहीहरु हैरान हुन थालेका छन् । रेन्जपोष्ट, पशुसेवा उपकेन्द्र, गाविसको कार्यालय लगायतका सरकारी कार्यालयहरुमा कर्मचारी नबस्दा सेवा ग्राहीहरु सेवा लिनबाट बन्चित भएका कारणले हैरान भएका हुन् ।
पूर्व पश्चिम राजमार्गको छेउमै रहेको छ सितापुर गाविस । भौगोलिक रुपमा विकट छैनन् सितापुर । यसका साथै सुरक्षाका दृष्टिकोणले पनि निकै सुरक्षीत छन् यो गाविस । यद्यपी सम्बन्धीत निकायको लापरवाहिका कारण कर्मचारीहरु यहाँ नवस्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।
एक रेन्जर सहित पाँच जना कर्मचारीहरुको दरबन्दी रहेको रेन्जपोष्टमा कर्मचारी नबस्दा सर्वसाधारणहरुले सेवा लिन पाएका छैैैन । महिनौ कार्यालयमा तालावन्दी हुदाँ चुरे क्षेत्रबाट काँचो काठ दाउरा चोरी निकासी हुदाँ समेत सम्बन्धित पक्षलाई कुनै चासो नहुने गरेको स्थानिय बृजमान तामाड्डको भनाई छ । यस रेन्जपोष्ट अन्तरगत ६ वटा सामुदायिक वन पर्दछन् ।
यसैगरी पशुसेवा उपकेन्द्रमा एक कार्यालय सहयोगि र एक जना केन्द्र प्रमुखको दरवन्दी भएपनि कार्यालयमा केन्द्र प्रमुख विरले आउने गरेको सेवा ग्राहीको आरोप छन् । रोगी पशुहरु लिएर पशुसेवा उपकेन्द्र पुग्दा प्राविधिक नहुँदा कार्यालय सहायकको भरमा उपचार गराएर फर्कनु परेको सितापुर ३ का शम्भु राईले गुनासो गरे ।
गाविस कार्यालयको पनि उस्तै अवस्था । गाविस सचिव, प्राविधीक साहायक र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी रहेको गाविस कार्यालयमा गाविस सचिव यदाकदा देखिने गरेको स्थानिय राजेश चौधरीको भनाई छ । सचिव नियमित कार्यालयमा नआउँदा धेरै जसो काम गराउन सचिवकै घरमा पुग्नु पर्ने बाध्यता रहेको चौधरी वताउँछन् ।
सितापुरमा इलाका उपस्वास्थ्य चौकी, रेन्जपोष्ट, पशुसेवा उपकेन्द्र, शसस्त्र प्रहरी वेशक्याम्प, गाविसको कार्यालय, मावि र प्रावि विद्यालयहरु गरी आधा दर्जन भन्दा बढी सरकारी कार्यालयहरु छन् । सम्बन्धित निकायको उदासिन्ता कर्मचारीहरुको लापर्वाहीको कारण यी सरकारी कार्यालयहरु प्रयोग विहिन बन्दै गएको स्थानियहरुको भनाई छ ।
अधिकांश कार्यालयमा प्रमुख नबस्दा अति आवश्यक काम गर्न कठिनाई भइरहेको सुनाउदै सरकारले गराउने सेवा सुविधा पाउनु त कहाँ हो कहाँ जानकारी समेत नपाउने गरेको स्थानियहरुको दुखेसो छ । यता यी कार्यालयहरुको राजविराज स्थित जिल्ला प्रमुखहरुसँग सम्पर्क गर्दा यस सन्दर्भमा बुझेर तत्कालै कारवाहि प्रक्रिया थाल्ने वताए ।









