
सैनामैना क्रिकेट क्लब ४ विकेट ले विजयी
तिलोत्तमा — रुपन्देहीमा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न खेलमा सैनामैना क्रिकेट क्लबले बुटवल-११ लाई ४ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको बुटवल-११ ले निर्धारित ५० ओभर मध्ये ४४.१ ओभर मा सबै विकेट गुमाएर १ सय ३६ रन को स्कोर बनाएको थियो। बुटवल-११ को तर्फबाट ब्याटिङमा प्रमिस अर्यालले २८, मनिष न्यौपाने र विभश खत्रीले समान १८/१८ रन तथा विवेक शर्माले १७ रन बनाए । बुटवल-११ लाई ३४ रन अतिरिक्त प्राप्त भयो। सैनामैनाका लागि बलिङमा गोपाल पौडेलले ४, सुनिल पौडेल र दिलसाद अलीले २/२ विकेट लिए भने गणेश गौतम र प्रदिप सुबेदीले १/१ विकेट लिएका थिए।
प्रतिउत्तरमा १ सय ३७ रन को लक्ष्यको साथ ब्याटिङमा आएको सैनामैनाले ३१.२ ओभरमा १ सय ३९ रन बनाउँदै विजयी भयो । सैनामैनाको लागि विक्रम गौतमले नट आउट ४८ रन बनाए । सुनिल पौडेलले २५ रन नट आउट खेल्दा तथा दिलसाद अलीले २२ रन जोड्न सफल भए।
बुटवल-११ को तर्फबाट बलिङमा प्रमिस अर्यालले २ तथा तौसिफ आलम र एजाज अहमदले १/१ विकेट लिए। उक्त खेलको प्लेयर अफ दि म्याच सैनामैना का गोपाल पौडेल घोषित भए । बिहीबारको खेल जिआर क्रीकेट क्लब बेलबास तथा वेस्टर्न क्रीकेट क्लब बुटवलबीच हुने छ।









