आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

मोदीको लक्ष्य चार सय पार, कांग्रेसको भय अर्को हार

नयाँदिल्ली — विश्वकै सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारत चुनावी महासंग्राममा होमिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि अघिल्लो निर्वाचनभन्दा बढी सिटका साथ चुनाव जित्ने योजना लिएर मैदानमा उत्रिएका छन् । सत्तारूढ भारतीय जनता पार्टी र मोदीलाई एक्लैले टक्कर दिन नसकिने यथार्थ स्विकार्दै विपक्षी दलहरू एकत्रित भएर चुनौती दिने प्रयासमा छन् । गत आइतबार दिल्लीको रामलीला मैदानको मञ्चबाट २८ विपक्षी दलको ‘इन्डिया’ गठबन्धनले आफूहरू एकजुट भएको सन्देश दिँदै सर्वसाधारणलाई भाजपाविरुद्ध मतदान गर्न आह्वान गरेको छ । मोदी तेस्रो पटक चुनिए मुलुकमा लोकतन्त्र नबच्ने भन्दै विपक्षी गठबन्धनले ‘लोकतन्त्र बचाओ’ लाई प्रमुख चुनावी नाराका रूपमा अगाडि सारेको छ । सत्तारूढ भाजपाले भने चुनाव अगाडि नै जितको दाबी गरेको छ । प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा तेस्रो कार्यकाल पुनः प्रधानमन्त्री हुने उच्च आत्मविश्वास देखाएका छन् । मोदीले ‘अबकी बार चार सय पार’ को नारा दिएका छन् । ५ सय ४३ सदस्यीय भारतीय लोकसभाको चुनाव १९ अप्रिलबाट प्रारम्भ भएर सात चरणमा १ जुनसम्म हुँदै छ । ४ जुनमा चुनावको नतिजा आउनेछ । भाजपाले अघिल्ला दुई वटा लोकसभा चुनाव २०१४ र २०१९ मा एक्लैले बहुमत ल्याएको थियो । २०१४ मा २ सय ८२ सिट जितेको भाजपा एक्लैले २०१९ मा ३ सय ३ सिट हात पारेको थियो । २०१९ मा भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को ३ सय ५२ सिट ल्याएको थियो ।

लगातार दुई वटा चुनावमा पाएको मतबाट हौसिएका मोदीले यस पटकको लक्ष्यलाई बढाएका छन् ।उनले भाजपा एक्लैले ३ सय ७० र भाजपा नेतृत्वको गठबन्धनले ४ सय सिट जित्ने दाबी गरेका छन् । उक्त लक्ष्य भेट्टाउन पुरानो जितलाई सुरक्षित राख्दै भाजपाले थप ७० सिट जित्नुपर्ने हुन्छ । उक्त लक्ष्यलाई यथार्थमा बदल्न भाजपालाई कठिन हुने राजनीतिक विश्लेषक रसिद किदवई बताउँछन् । ‘चुनावअघि नै परिणाम आफ्नो पक्षमा रहेको माहोल भाजपाले बनाएको देखिन्छ, त्यस्तो प्रचारको मामिलामा भाजपापछि दोस्रो को भन्दा कुनै पनि पार्टी देखिँदैन, चुनावी प्रचारबाजी र ब्रान्डिङमा भाजपा अरूभन्दा धेरै अगाडि छ,’ उनले भने, ‘जमिनी हालत पनि भाजपाको पक्षमा सकारात्मक नै देखिन्छ । त्यसका बाबजुद पनि भाजपा एक्लैले लिएको ३ सय ७० को लक्ष्य कठिन छ ।’

दक्षिण भारतमा भाजपाको जोड

२०१४ र १९ को चुनावमा भाजपाले उत्तरी भारतको ठूलो साथ पाएको थियो । पुरानो जितको अंकलाई बढाउन मोदीले लोकसभा चुनावमा भारतको दक्षिणी राज्यका मतदाता रिझाउन अधिकतम प्रयत्न गरिरहेका छन् । उत्तर र पश्चिमको तुलनामा सत्तारूढ भारतीय जनता पार्टी दक्षिणमा कमजोर छ । दक्षिण भारतका पाँच राज्यमा १ सय ३० लोकसभा सिट छन् । मोदीले दिएको चार सय पारको नाराका लागि दक्षिणको अधिकतम सिट भाजपाले जित्नुपर्ने हुन्छ । दक्षिणमा अघिल्लो पटक २९ सिट जितेको भाजपाले लक्ष्य भेट्टाउन यस पटक त्यताको कुल सिटको कम्तीमा आधा ६२ देखि ६५ सिट जित्नुपर्छ । भाजपाले पूरा बल अहिले दक्षिणमा लगाइरहेको छ । प्रधानमन्त्री मोदी महिनौंयता लगातार दक्षिण भारतको यात्रा गरिरहेका छन् । आफ्नो चुनावी र्‍यालीको प्रारम्भ पनि उनले दक्षिणबाटै सुरु गरेका हुन् । चुनाव घोषणा हुनुपूर्व नै मोदीले तमिलनाडु, केरल र आन्ध्र प्रदेशका मन्दिरहरूको यात्रा गरेका थिए । आचारसंहिता लाग्नुपूर्व चुनावी लक्ष्य ध्यानमा राखेर उनले विकासका कैयौं परियोजनाको उद्घाटन, शिलान्यास र घोषणाहरू गरेका थिए । पछिल्लो तीन महिनामा उनले २७ दिन दक्षिण भारतमै बिताएका छन् । मार्च महिनामा मात्र उनले दक्षिणी राज्यमा आयोजित दर्जनौं सभालाई सम्बोधन गरिसकेका छन् । सात चरणको मतदानसम्ममा मोदी अझै धेरै पटक दक्षिण भारतको यात्रामा निस्किने कार्यक्रम छ । भाजपा मोदी लोकप्रियताको अधिकतम लाभ दक्षिणमा पनि लिन प्रयत्नशील छ । दक्षिणको चुनावी प्रचारको नेतृत्व स्वयं मोदीले सम्हालेको देखिन्छ । त्यहाँको क्षेत्रीय दल र कांग्रेसको पकडलाई कमजोर बनाएर लाभ लिने योजनामा उनी छन् । भाजपाले उत्तर र पश्चिमका राज्यहरूमा उच्चस्तरको उपलब्धि पछिल्ला चुनावमा पाइसकेको छ । त्यसभन्दा बढी सिट जित्ने सम्भावना कम छ ।

राजनीतिक विश्लेषक किदवई भाजपा एक्लैले ३ सय ७० सिटको अपेक्षा राख्नुलाई चुनौतीपूर्ण देख्छन् । उनको विश्लेषणमा त्यसका लागि अधिकतम राज्यमा ९० र केहीमा ६० प्रतिशत सिट भाजपाले जित्नुपर्छ । ‘उत्तर र पश्चिमका राज्यमा पछिल्लो चुनावमा भाजपाले उत्कृष्ट प्रदर्शन देखाइसकेको छ । पूर्वमा पनि औसतमा राम्रो नतिजा आएको थियो,’ उनले भने, ‘सिट संख्या बढाउनलाई भाजपालाई दक्षिणको साथ चाहिएको छ । २०१९ मा कर्नाटकबाहेकका राज्यमा भाजपाले राम्रो प्रदर्शन गर्न सकेको थिएन ।’ दक्षिणमा राम्रो सफलता प्राप्त गर्नु अहिले पनि भाजपाका लागि मुस्किल देखिँदै आएको उनको विश्लेषण छ । प्रधानमन्त्री मोदीले दक्षिणका मतदातालाई रिझाउन अधिकतम प्रयास गरिरहेका छन् । त्यसले भाजपाको मत प्रतिशत त केही बढाउने सम्भावना छ तर त्यसले सिट संख्या नै बढाउने विषयमा उनी संशय प्रकट गर्छन् ।

दक्षिण भारतका हरेक राज्यमा त्यहाँको स्थानीय भाषा रक्षाको लडाइँ उत्कर्षमा छ । भाजपाले हिन्दी भाषालाई प्राथमिकता दिएर भारतभरि फैलाउन खोजेको छ । त्यसबाट पनि दक्षिणी राज्यमा भाजपालाई लिएर एक प्रकारको असन्तुष्टि पहिल्यैदेखि कायम छ । त्यस्ता असन्तुष्टिलाई भ्रष्टाचारको विरोध र विकासको नाराबाट चिर्ने प्रयत्नमा मोदी लागेका छन् । उनले चुनावी र्‍यालीहरूमा भाजपा सरकारको उपलब्धि र भविष्यका योजना गणना गराइरहेका छन् ।

लोकसभा चुनावमा दक्षिण भारतको तमिलनाडुमा ३९, कर्नाटकमा २८, आन्ध्र प्रदेशमा २५, केरलमा २०, तेलंगानामा १७ र पुडुचेरीमा १ सिट छन् । अघिल्लो पटक कर्नाटकबाहेकका राज्यमा भाजपाको प्रदर्शन राम्रो थिएन । भाजपाले कर्नाटकका २८ मध्ये २५ सिटमा विजय हासिल गरेको थियो । अहिले कर्नाटकमा पनि कांग्रेसले भाजपालाई छेक्ने अधिकतम प्रयास गरिरहेको छ । त्यहाँको विधानसभा चुनाव जितेर कांग्रेसले सरकार चलाइरहेको छ । २०२३ मा भएको विधानसभा चुनावमा कांग्रेसले राम्रो नतिजा ल्याएको थियो ।

कर्नाटक दक्षिणको प्रवेशद्वार नै मानिन्छ । त्यहाँ भाजपालाई पुरानै प्रदर्शन दोहोर्‍याउन मुस्किल मानिएको छ । टिकट वितरणलाई लिएर पार्टीभित्रै नेताहरू असन्तुष्ट रहेको समाचार आएका छन् । त्यसको लाभ कांग्रेसले उठाउने सम्भावना छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्न भाजपाले पूर्वप्रधानमन्त्री एचडी देवेगौडाको जनता दल (सेक्युलर) सँग गठबन्धन गरेको छ । कर्नाटकबाहेक भाजपाले तेलंगानामा ४ सिट जितेको थियो ।

सबैभन्दा बढी लोकसभा सिट रहेको तमिलनाडुमा अघिल्लो चुनावमा भाजपाले एक सिट पनि जितेको छैन । आन्ध्र, केरल र पुडुचेरीमा पनि त्यस्तै नतिजा आएको थियो । राजनीतिक विश्लेषक किदवई दक्षिणमा आएको अघिल्लो नतिजाकै स्थितिले लक्ष्य बढाउने कुरा असम्भव बुझेरै भाजपाले सक्दो बल दक्षिणमा लगाइरहेको बताउँछन् । भाजपा आफ्नो मत बढाउन अहिले दक्षिणका स–साना पार्टीसँग गठबन्धन गरिरहेको छ । आन्ध्र प्रदेशमा भाजपाले पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टी र जनसेना पार्टीसँग गठबन्धन गरेको छ । दुई क्षेत्रीय पार्टीसँगको गठबन्धनले त्यहाँ भाजपालाई केही लाभ मिल्न सक्ने सम्भावना बढाएको राजनीतिक विश्लेषकहरू बताउँछन् । तमिलनाडुमा त्यहाँका दुई ठूला क्षेत्रीय दल सत्तारूढ द्रमुक र विपक्षी अन्नाद्रमुकमध्ये कुनै पनि भाजपाको साथ छैनन् ।

द्रमुक पहिलेदेखि कांग्रेससँगको गठबन्धनमा छ । अन्नाद्रमुकले पनि दूरी बढाएपछि भाजपाले अन्य साना दललाई जोडेको छ । अन्यत्र गठबन्धन भए पनि केरलमा भने कांग्रेस र कम्युनिस्ट पार्टीबीच नै प्रतिस्पर्धा छ । अघिल्लो पटक २० मध्ये १५ सिट कांग्रेसले जितेको थियो । एक सिट पनि नपाएको भाजपा त्यहाँ ‘स्पेस’ बनाउन प्रयत्नशील छ । अर्को दक्षिणी राज्य तेलंगानामा कांग्रेसको सरकार छ । २०२३ को डिसेम्बरमा भएको विधानसभा चुनावका ११९ सिटमध्ये कांग्रेस एक्लैले ६४ सिटमा विजय हासिल गरेको थियो ।

अघिल्लो उपलब्धिलाई जोगाउने चुनौती

२०१९ को चुनावमा भाजपाले गुजरातका २६, हरियाणाका १०, हिमाचलका ४, त्रिपुराका २, चण्डीगढका १, दमन एन्ड दिवका १, दिल्लीका ७ र उत्तराखण्डका सबै ५ सिट जितेको थियो । यी प्रदेशमा भाजपाले ‘क्लिन स्विप’ गरेको हो । निर्णायक मानिएको ठूला राज्यमा राम्रो नतिजा ल्याएको थियो । सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशका ८० सिटमध्ये ६२ सिट जितेको थियो । पश्चिम बंगालका ४२ सिटमध्ये १८, बिहारका ४० सिटमध्ये भाजपा एक्लैले १७ र गठबन्धनले ३९ सिट जितेको थियो । त्यस्तै, मध्यप्रदेशका २९ मध्ये २८, राजस्थानका २५ मध्ये २४ र महाराष्ट्रका ४८ मध्ये २३ सिट जितेको थियो । पञ्जाबमा भाजपा कमजोर छ । क्षेत्रीय दलसँग गठबन्धन हुन नसक्दा त्यहाँ भाजपा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

झारखण्डका १४ मध्ये ११, छत्तिसगढका ११ मध्ये ९ र असमका १४ मध्ये ९ सिट भाजपाले जितेको थियो । मणिपुर र मेघालयका दुई–दुई सिटमा एक–एक सिट जितेको थियो । हरियाणा, हिमाचल, उत्तराखण्ड, राजस्थान, गुजरात, मध्यप्रदेश, छत्तिसगढ, बिहार, झारखण्ड, महाराष्ट्र, दिल्ली, कर्नाटक र उत्तर प्रदेश १३ राज्यका ३ सय २७ लोकसभा सिटमध्ये २ सय ९६ सिट एनडीए गठबन्धनले हात पारेको थियो । लोकसभा चुनावको केही महिना अगाडि गत डिसेम्बरमा राजस्थान, छत्तिसगढ र मध्यप्रदेशमा भएको विधानसभा चुनाव जितेर भाजपाले यी क्षेत्रमा अझै बलियो रहेको सन्देश प्रवाह गर्न सफल भएको छ । चुनावको मुखमा अयोध्याको राम मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा र हिन्दुत्वको कार्डले लोकसभा चुनावमा लाभ दिलाउनेमा भाजपा विश्वस्त छ ।

भाजपामाथि ‘म्याच फिक्सिङ’ को आरोप

भाजपाले विपक्षी कित्तालाई भ्रष्टाचारमा मुछिएको देखाउन प्रयत्न गरिरहेका बेला कांग्रेससहितको विपक्षी ‘इन्डिया’ गठबन्धनले मोदी सरकारमाथि चुनावी बन्डमार्फत ठूलो भ्रष्टाचार गरेको आरोप लगाइरहेको छ । मूलधारका मिडियामा उक्त विषयले ठूलो स्थान नपाए पनि विपक्षीले त्यसलाई मतदातामाझ चुनावी मुद्दाका रूपमा लैजाँदै छ । चीनले भारतीय भूमिमाथि कब्जा गरेको सामरिक विषयदेखि महँगी र बेरोजगारीको मुद्दालाई विपक्षीले चुनावी प्रचारको हिस्सा बनाएको छ । भाजपाले चुनावी लाभका लागि प्रवर्तन निर्देशनालय (ईडी), आयकर विभाग र सीबीआईको दुरुपयोग विपक्षी नेतामाथि गरेको विषयलाई पनि विपक्षी दलहरू मतदातामाझ लैजान प्रयास गरिरहेका छन् । मदिरा नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दुई सातादेखि र सरकारी जग्गा बिक्रीमा भ्रष्टाचारको आरोपमा झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेन इडीको हिरासतमा छन् । दुवै जना भाजपाको षड्यन्त्रको सिकार भएको भन्दै त्यसलाई लिएर मतदाताको सहानुभूति बटुल्ने रणनीति पनि ‘इन्डिया’ गठबन्धनले अख्तियार गरेको छ ।

कांग्रेस नेता राहुल गान्धीले विपक्षीलाई डराएर, धम्क्याएर, जेल पठाएर गराउन खोजिएको चुनावलाई ‘म्याच फिक्सिङ’ को संज्ञा दिएका छन् । ‘म्याच फिक्सिङ’ नभएको स्थितिमा भाजपाले १ सय ८० सिट पनि पार नगर्ने उनले ठोकुवा गरेका छन् । विपक्षी इन्डिया गठबन्धनको मञ्चबाट आइतबार उनले चुनावको निष्पक्षतामाथि औंला उठाए । विद्युतीय मतदान उपकरण (ईभीएम) लाई लिएर पनि उनले लगातार संशय व्यक्त गरिरहेका छन् । भाजपाले चार सय पारको नारा ईभीएम र म्याच फिक्सिङकै बलमा लगाएको उनको दाबी छ । मोदीको लोकप्रिय व्यक्तित्वलाई टक्कर दिन विपक्षी खेमाबाट कांग्रेस नेता राहुल गान्धीले मोर्चा सम्हालेका छन् । चुनावपूर्व उनले दक्षिणदेखि उत्तर र पूर्वदेखि पश्चिमसम्मको भारत यात्रा गरेका छन् । कांग्रेसले देशैभर उनको व्यक्तित्व बनाउन लगातार काम गरेको छ । तर, विपक्षी खेमाभित्रको अन्तरद्वन्द्वले सिंगो विपक्षी गठबन्धनको नेतृत्व कसैले पाएको छैन ।

चुनावको मुखमा गत आइतबार रामलीला मैदानबाट विपक्षी दलले एकजुट भएको सन्देश दिए पनि प्रदेशगत रूपमा सिट बाँडफाँटमा कांग्रेस र क्षेत्रीय दलबीच देखिएको समस्या यथावत् छ । गत वर्ष २८ विपक्षी दल एउटै मञ्चमा उभिएर सबैतिर साझा उम्मेदवारी दिएर जाने बताइरहँदा भाजपाका अगाडि सबैभन्दा ठूलो चुनौती देखिएको थियो ।

गठबन्धनमै रहेको सन्देश दिए पनि पश्चिम बंगालमा ममता बनर्जीको तृणमुल कांग्रेसले एक्लै सबै सिटमा उम्मेदवार खडा गरेको छ । राहुल गान्धीको चुनावी क्षेत्र केरलको वायानाडमा गठबन्धनमै रहेको सीपीआईले उम्मेदवार खडा गरेको छ । दिल्लीमा गठबन्धनका लागि तयार रहे पनि आम आदमी पार्टीले पञ्जाबमा कांग्रेससँग प्रतिस्पर्धामै उत्रिने बताएको छ । गठबन्धनका सूत्रधार जनता दल युनाइटेडका नेता बिहारका मुख्यमन्त्री नितिश कुमारले पहिल्यै गठबन्धन छाडेर भाजपासँग नाता जोडिसकेका छन् । पत्रकार तथा विश्लेषक चन्द्रभूषण नितिशको बहिर्गमन विपक्षीका लागि ‘मास्टर स्ट्रोक’ भएको बताउँछन् । बिहारमा नितिशले गराएको जातीय जनगणनालाई इन्डिया गठबन्धनले भाजपाको हिन्दुत्वका विरुद्ध संख्याका आधारमा समान अवसरको नारा दिएर मतदातामाझ जाने तयारी गरेको थियो । ‘तर, गठबन्धन बनाउन पहलकदमी लिने र एजेन्डासमेत दिएका नितिश नै भाजपातिर लाग्नु विपक्षीका लागि धक्का हुन पुग्यो,’ उनले भने, ‘त्यसपछि पनि विपक्षीलाई कमजोर बनाउने रणनीति जारी छ । एकपछि अर्को विपक्षी नेतालाई भ्रष्टाचारको आरोपमा पक्राउ गर्नु र कांग्रेसको खाता फ्रिज गर्ने काम भएको छ ।’

Program Schedule
Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise