
मोदीको लक्ष्य चार सय पार, कांग्रेसको भय अर्को हार
नयाँदिल्ली — विश्वकै सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारत चुनावी महासंग्राममा होमिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि अघिल्लो निर्वाचनभन्दा बढी सिटका साथ चुनाव जित्ने योजना लिएर मैदानमा उत्रिएका छन् । सत्तारूढ भारतीय जनता पार्टी र मोदीलाई एक्लैले टक्कर दिन नसकिने यथार्थ स्विकार्दै विपक्षी दलहरू एकत्रित भएर चुनौती दिने प्रयासमा छन् । गत आइतबार दिल्लीको रामलीला मैदानको मञ्चबाट २८ विपक्षी दलको ‘इन्डिया’ गठबन्धनले आफूहरू एकजुट भएको सन्देश दिँदै सर्वसाधारणलाई भाजपाविरुद्ध मतदान गर्न आह्वान गरेको छ । मोदी तेस्रो पटक चुनिए मुलुकमा लोकतन्त्र नबच्ने भन्दै विपक्षी गठबन्धनले ‘लोकतन्त्र बचाओ’ लाई प्रमुख चुनावी नाराका रूपमा अगाडि सारेको छ । सत्तारूढ भाजपाले भने चुनाव अगाडि नै जितको दाबी गरेको छ । प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा तेस्रो कार्यकाल पुनः प्रधानमन्त्री हुने उच्च आत्मविश्वास देखाएका छन् । मोदीले ‘अबकी बार चार सय पार’ को नारा दिएका छन् । ५ सय ४३ सदस्यीय भारतीय लोकसभाको चुनाव १९ अप्रिलबाट प्रारम्भ भएर सात चरणमा १ जुनसम्म हुँदै छ । ४ जुनमा चुनावको नतिजा आउनेछ । भाजपाले अघिल्ला दुई वटा लोकसभा चुनाव २०१४ र २०१९ मा एक्लैले बहुमत ल्याएको थियो । २०१४ मा २ सय ८२ सिट जितेको भाजपा एक्लैले २०१९ मा ३ सय ३ सिट हात पारेको थियो । २०१९ मा भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को ३ सय ५२ सिट ल्याएको थियो ।
लगातार दुई वटा चुनावमा पाएको मतबाट हौसिएका मोदीले यस पटकको लक्ष्यलाई बढाएका छन् ।उनले भाजपा एक्लैले ३ सय ७० र भाजपा नेतृत्वको गठबन्धनले ४ सय सिट जित्ने दाबी गरेका छन् । उक्त लक्ष्य भेट्टाउन पुरानो जितलाई सुरक्षित राख्दै भाजपाले थप ७० सिट जित्नुपर्ने हुन्छ । उक्त लक्ष्यलाई यथार्थमा बदल्न भाजपालाई कठिन हुने राजनीतिक विश्लेषक रसिद किदवई बताउँछन् । ‘चुनावअघि नै परिणाम आफ्नो पक्षमा रहेको माहोल भाजपाले बनाएको देखिन्छ, त्यस्तो प्रचारको मामिलामा भाजपापछि दोस्रो को भन्दा कुनै पनि पार्टी देखिँदैन, चुनावी प्रचारबाजी र ब्रान्डिङमा भाजपा अरूभन्दा धेरै अगाडि छ,’ उनले भने, ‘जमिनी हालत पनि भाजपाको पक्षमा सकारात्मक नै देखिन्छ । त्यसका बाबजुद पनि भाजपा एक्लैले लिएको ३ सय ७० को लक्ष्य कठिन छ ।’
दक्षिण भारतमा भाजपाको जोड
२०१४ र १९ को चुनावमा भाजपाले उत्तरी भारतको ठूलो साथ पाएको थियो । पुरानो जितको अंकलाई बढाउन मोदीले लोकसभा चुनावमा भारतको दक्षिणी राज्यका मतदाता रिझाउन अधिकतम प्रयत्न गरिरहेका छन् । उत्तर र पश्चिमको तुलनामा सत्तारूढ भारतीय जनता पार्टी दक्षिणमा कमजोर छ । दक्षिण भारतका पाँच राज्यमा १ सय ३० लोकसभा सिट छन् । मोदीले दिएको चार सय पारको नाराका लागि दक्षिणको अधिकतम सिट भाजपाले जित्नुपर्ने हुन्छ । दक्षिणमा अघिल्लो पटक २९ सिट जितेको भाजपाले लक्ष्य भेट्टाउन यस पटक त्यताको कुल सिटको कम्तीमा आधा ६२ देखि ६५ सिट जित्नुपर्छ । भाजपाले पूरा बल अहिले दक्षिणमा लगाइरहेको छ । प्रधानमन्त्री मोदी महिनौंयता लगातार दक्षिण भारतको यात्रा गरिरहेका छन् । आफ्नो चुनावी र्यालीको प्रारम्भ पनि उनले दक्षिणबाटै सुरु गरेका हुन् । चुनाव घोषणा हुनुपूर्व नै मोदीले तमिलनाडु, केरल र आन्ध्र प्रदेशका मन्दिरहरूको यात्रा गरेका थिए । आचारसंहिता लाग्नुपूर्व चुनावी लक्ष्य ध्यानमा राखेर उनले विकासका कैयौं परियोजनाको उद्घाटन, शिलान्यास र घोषणाहरू गरेका थिए । पछिल्लो तीन महिनामा उनले २७ दिन दक्षिण भारतमै बिताएका छन् । मार्च महिनामा मात्र उनले दक्षिणी राज्यमा आयोजित दर्जनौं सभालाई सम्बोधन गरिसकेका छन् । सात चरणको मतदानसम्ममा मोदी अझै धेरै पटक दक्षिण भारतको यात्रामा निस्किने कार्यक्रम छ । भाजपा मोदी लोकप्रियताको अधिकतम लाभ दक्षिणमा पनि लिन प्रयत्नशील छ । दक्षिणको चुनावी प्रचारको नेतृत्व स्वयं मोदीले सम्हालेको देखिन्छ । त्यहाँको क्षेत्रीय दल र कांग्रेसको पकडलाई कमजोर बनाएर लाभ लिने योजनामा उनी छन् । भाजपाले उत्तर र पश्चिमका राज्यहरूमा उच्चस्तरको उपलब्धि पछिल्ला चुनावमा पाइसकेको छ । त्यसभन्दा बढी सिट जित्ने सम्भावना कम छ ।
राजनीतिक विश्लेषक किदवई भाजपा एक्लैले ३ सय ७० सिटको अपेक्षा राख्नुलाई चुनौतीपूर्ण देख्छन् । उनको विश्लेषणमा त्यसका लागि अधिकतम राज्यमा ९० र केहीमा ६० प्रतिशत सिट भाजपाले जित्नुपर्छ । ‘उत्तर र पश्चिमका राज्यमा पछिल्लो चुनावमा भाजपाले उत्कृष्ट प्रदर्शन देखाइसकेको छ । पूर्वमा पनि औसतमा राम्रो नतिजा आएको थियो,’ उनले भने, ‘सिट संख्या बढाउनलाई भाजपालाई दक्षिणको साथ चाहिएको छ । २०१९ मा कर्नाटकबाहेकका राज्यमा भाजपाले राम्रो प्रदर्शन गर्न सकेको थिएन ।’ दक्षिणमा राम्रो सफलता प्राप्त गर्नु अहिले पनि भाजपाका लागि मुस्किल देखिँदै आएको उनको विश्लेषण छ । प्रधानमन्त्री मोदीले दक्षिणका मतदातालाई रिझाउन अधिकतम प्रयास गरिरहेका छन् । त्यसले भाजपाको मत प्रतिशत त केही बढाउने सम्भावना छ तर त्यसले सिट संख्या नै बढाउने विषयमा उनी संशय प्रकट गर्छन् ।
दक्षिण भारतका हरेक राज्यमा त्यहाँको स्थानीय भाषा रक्षाको लडाइँ उत्कर्षमा छ । भाजपाले हिन्दी भाषालाई प्राथमिकता दिएर भारतभरि फैलाउन खोजेको छ । त्यसबाट पनि दक्षिणी राज्यमा भाजपालाई लिएर एक प्रकारको असन्तुष्टि पहिल्यैदेखि कायम छ । त्यस्ता असन्तुष्टिलाई भ्रष्टाचारको विरोध र विकासको नाराबाट चिर्ने प्रयत्नमा मोदी लागेका छन् । उनले चुनावी र्यालीहरूमा भाजपा सरकारको उपलब्धि र भविष्यका योजना गणना गराइरहेका छन् ।
लोकसभा चुनावमा दक्षिण भारतको तमिलनाडुमा ३९, कर्नाटकमा २८, आन्ध्र प्रदेशमा २५, केरलमा २०, तेलंगानामा १७ र पुडुचेरीमा १ सिट छन् । अघिल्लो पटक कर्नाटकबाहेकका राज्यमा भाजपाको प्रदर्शन राम्रो थिएन । भाजपाले कर्नाटकका २८ मध्ये २५ सिटमा विजय हासिल गरेको थियो । अहिले कर्नाटकमा पनि कांग्रेसले भाजपालाई छेक्ने अधिकतम प्रयास गरिरहेको छ । त्यहाँको विधानसभा चुनाव जितेर कांग्रेसले सरकार चलाइरहेको छ । २०२३ मा भएको विधानसभा चुनावमा कांग्रेसले राम्रो नतिजा ल्याएको थियो ।
कर्नाटक दक्षिणको प्रवेशद्वार नै मानिन्छ । त्यहाँ भाजपालाई पुरानै प्रदर्शन दोहोर्याउन मुस्किल मानिएको छ । टिकट वितरणलाई लिएर पार्टीभित्रै नेताहरू असन्तुष्ट रहेको समाचार आएका छन् । त्यसको लाभ कांग्रेसले उठाउने सम्भावना छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्न भाजपाले पूर्वप्रधानमन्त्री एचडी देवेगौडाको जनता दल (सेक्युलर) सँग गठबन्धन गरेको छ । कर्नाटकबाहेक भाजपाले तेलंगानामा ४ सिट जितेको थियो ।
सबैभन्दा बढी लोकसभा सिट रहेको तमिलनाडुमा अघिल्लो चुनावमा भाजपाले एक सिट पनि जितेको छैन । आन्ध्र, केरल र पुडुचेरीमा पनि त्यस्तै नतिजा आएको थियो । राजनीतिक विश्लेषक किदवई दक्षिणमा आएको अघिल्लो नतिजाकै स्थितिले लक्ष्य बढाउने कुरा असम्भव बुझेरै भाजपाले सक्दो बल दक्षिणमा लगाइरहेको बताउँछन् । भाजपा आफ्नो मत बढाउन अहिले दक्षिणका स–साना पार्टीसँग गठबन्धन गरिरहेको छ । आन्ध्र प्रदेशमा भाजपाले पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टी र जनसेना पार्टीसँग गठबन्धन गरेको छ । दुई क्षेत्रीय पार्टीसँगको गठबन्धनले त्यहाँ भाजपालाई केही लाभ मिल्न सक्ने सम्भावना बढाएको राजनीतिक विश्लेषकहरू बताउँछन् । तमिलनाडुमा त्यहाँका दुई ठूला क्षेत्रीय दल सत्तारूढ द्रमुक र विपक्षी अन्नाद्रमुकमध्ये कुनै पनि भाजपाको साथ छैनन् ।
द्रमुक पहिलेदेखि कांग्रेससँगको गठबन्धनमा छ । अन्नाद्रमुकले पनि दूरी बढाएपछि भाजपाले अन्य साना दललाई जोडेको छ । अन्यत्र गठबन्धन भए पनि केरलमा भने कांग्रेस र कम्युनिस्ट पार्टीबीच नै प्रतिस्पर्धा छ । अघिल्लो पटक २० मध्ये १५ सिट कांग्रेसले जितेको थियो । एक सिट पनि नपाएको भाजपा त्यहाँ ‘स्पेस’ बनाउन प्रयत्नशील छ । अर्को दक्षिणी राज्य तेलंगानामा कांग्रेसको सरकार छ । २०२३ को डिसेम्बरमा भएको विधानसभा चुनावका ११९ सिटमध्ये कांग्रेस एक्लैले ६४ सिटमा विजय हासिल गरेको थियो ।
अघिल्लो उपलब्धिलाई जोगाउने चुनौती
२०१९ को चुनावमा भाजपाले गुजरातका २६, हरियाणाका १०, हिमाचलका ४, त्रिपुराका २, चण्डीगढका १, दमन एन्ड दिवका १, दिल्लीका ७ र उत्तराखण्डका सबै ५ सिट जितेको थियो । यी प्रदेशमा भाजपाले ‘क्लिन स्विप’ गरेको हो । निर्णायक मानिएको ठूला राज्यमा राम्रो नतिजा ल्याएको थियो । सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशका ८० सिटमध्ये ६२ सिट जितेको थियो । पश्चिम बंगालका ४२ सिटमध्ये १८, बिहारका ४० सिटमध्ये भाजपा एक्लैले १७ र गठबन्धनले ३९ सिट जितेको थियो । त्यस्तै, मध्यप्रदेशका २९ मध्ये २८, राजस्थानका २५ मध्ये २४ र महाराष्ट्रका ४८ मध्ये २३ सिट जितेको थियो । पञ्जाबमा भाजपा कमजोर छ । क्षेत्रीय दलसँग गठबन्धन हुन नसक्दा त्यहाँ भाजपा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।
झारखण्डका १४ मध्ये ११, छत्तिसगढका ११ मध्ये ९ र असमका १४ मध्ये ९ सिट भाजपाले जितेको थियो । मणिपुर र मेघालयका दुई–दुई सिटमा एक–एक सिट जितेको थियो । हरियाणा, हिमाचल, उत्तराखण्ड, राजस्थान, गुजरात, मध्यप्रदेश, छत्तिसगढ, बिहार, झारखण्ड, महाराष्ट्र, दिल्ली, कर्नाटक र उत्तर प्रदेश १३ राज्यका ३ सय २७ लोकसभा सिटमध्ये २ सय ९६ सिट एनडीए गठबन्धनले हात पारेको थियो । लोकसभा चुनावको केही महिना अगाडि गत डिसेम्बरमा राजस्थान, छत्तिसगढ र मध्यप्रदेशमा भएको विधानसभा चुनाव जितेर भाजपाले यी क्षेत्रमा अझै बलियो रहेको सन्देश प्रवाह गर्न सफल भएको छ । चुनावको मुखमा अयोध्याको राम मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा र हिन्दुत्वको कार्डले लोकसभा चुनावमा लाभ दिलाउनेमा भाजपा विश्वस्त छ ।
भाजपामाथि ‘म्याच फिक्सिङ’ को आरोप
भाजपाले विपक्षी कित्तालाई भ्रष्टाचारमा मुछिएको देखाउन प्रयत्न गरिरहेका बेला कांग्रेससहितको विपक्षी ‘इन्डिया’ गठबन्धनले मोदी सरकारमाथि चुनावी बन्डमार्फत ठूलो भ्रष्टाचार गरेको आरोप लगाइरहेको छ । मूलधारका मिडियामा उक्त विषयले ठूलो स्थान नपाए पनि विपक्षीले त्यसलाई मतदातामाझ चुनावी मुद्दाका रूपमा लैजाँदै छ । चीनले भारतीय भूमिमाथि कब्जा गरेको सामरिक विषयदेखि महँगी र बेरोजगारीको मुद्दालाई विपक्षीले चुनावी प्रचारको हिस्सा बनाएको छ । भाजपाले चुनावी लाभका लागि प्रवर्तन निर्देशनालय (ईडी), आयकर विभाग र सीबीआईको दुरुपयोग विपक्षी नेतामाथि गरेको विषयलाई पनि विपक्षी दलहरू मतदातामाझ लैजान प्रयास गरिरहेका छन् । मदिरा नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दुई सातादेखि र सरकारी जग्गा बिक्रीमा भ्रष्टाचारको आरोपमा झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेन इडीको हिरासतमा छन् । दुवै जना भाजपाको षड्यन्त्रको सिकार भएको भन्दै त्यसलाई लिएर मतदाताको सहानुभूति बटुल्ने रणनीति पनि ‘इन्डिया’ गठबन्धनले अख्तियार गरेको छ ।
कांग्रेस नेता राहुल गान्धीले विपक्षीलाई डराएर, धम्क्याएर, जेल पठाएर गराउन खोजिएको चुनावलाई ‘म्याच फिक्सिङ’ को संज्ञा दिएका छन् । ‘म्याच फिक्सिङ’ नभएको स्थितिमा भाजपाले १ सय ८० सिट पनि पार नगर्ने उनले ठोकुवा गरेका छन् । विपक्षी इन्डिया गठबन्धनको मञ्चबाट आइतबार उनले चुनावको निष्पक्षतामाथि औंला उठाए । विद्युतीय मतदान उपकरण (ईभीएम) लाई लिएर पनि उनले लगातार संशय व्यक्त गरिरहेका छन् । भाजपाले चार सय पारको नारा ईभीएम र म्याच फिक्सिङकै बलमा लगाएको उनको दाबी छ । मोदीको लोकप्रिय व्यक्तित्वलाई टक्कर दिन विपक्षी खेमाबाट कांग्रेस नेता राहुल गान्धीले मोर्चा सम्हालेका छन् । चुनावपूर्व उनले दक्षिणदेखि उत्तर र पूर्वदेखि पश्चिमसम्मको भारत यात्रा गरेका छन् । कांग्रेसले देशैभर उनको व्यक्तित्व बनाउन लगातार काम गरेको छ । तर, विपक्षी खेमाभित्रको अन्तरद्वन्द्वले सिंगो विपक्षी गठबन्धनको नेतृत्व कसैले पाएको छैन ।
चुनावको मुखमा गत आइतबार रामलीला मैदानबाट विपक्षी दलले एकजुट भएको सन्देश दिए पनि प्रदेशगत रूपमा सिट बाँडफाँटमा कांग्रेस र क्षेत्रीय दलबीच देखिएको समस्या यथावत् छ । गत वर्ष २८ विपक्षी दल एउटै मञ्चमा उभिएर सबैतिर साझा उम्मेदवारी दिएर जाने बताइरहँदा भाजपाका अगाडि सबैभन्दा ठूलो चुनौती देखिएको थियो ।
गठबन्धनमै रहेको सन्देश दिए पनि पश्चिम बंगालमा ममता बनर्जीको तृणमुल कांग्रेसले एक्लै सबै सिटमा उम्मेदवार खडा गरेको छ । राहुल गान्धीको चुनावी क्षेत्र केरलको वायानाडमा गठबन्धनमै रहेको सीपीआईले उम्मेदवार खडा गरेको छ । दिल्लीमा गठबन्धनका लागि तयार रहे पनि आम आदमी पार्टीले पञ्जाबमा कांग्रेससँग प्रतिस्पर्धामै उत्रिने बताएको छ । गठबन्धनका सूत्रधार जनता दल युनाइटेडका नेता बिहारका मुख्यमन्त्री नितिश कुमारले पहिल्यै गठबन्धन छाडेर भाजपासँग नाता जोडिसकेका छन् । पत्रकार तथा विश्लेषक चन्द्रभूषण नितिशको बहिर्गमन विपक्षीका लागि ‘मास्टर स्ट्रोक’ भएको बताउँछन् । बिहारमा नितिशले गराएको जातीय जनगणनालाई इन्डिया गठबन्धनले भाजपाको हिन्दुत्वका विरुद्ध संख्याका आधारमा समान अवसरको नारा दिएर मतदातामाझ जाने तयारी गरेको थियो । ‘तर, गठबन्धन बनाउन पहलकदमी लिने र एजेन्डासमेत दिएका नितिश नै भाजपातिर लाग्नु विपक्षीका लागि धक्का हुन पुग्यो,’ उनले भने, ‘त्यसपछि पनि विपक्षीलाई कमजोर बनाउने रणनीति जारी छ । एकपछि अर्को विपक्षी नेतालाई भ्रष्टाचारको आरोपमा पक्राउ गर्नु र कांग्रेसको खाता फ्रिज गर्ने काम भएको छ ।’









